१९ माघ, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारीमा स्थानीय रुपा थापाको हत्या सोही घरमा काम गर्न बसेका किशोरले गरेको पुष्टि भएको छ । यही माघ १४ गते राति थापाको हत्या भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार थापाको हत्या घरमा काम गर्न बसेका धादिङ ताल्तीखोलका १४ वर्षीय सन्तोष आलेमगरले गरेको पुष्टि भएको हो । मगरले आफूलाई जन्त जान रोकेपछि आवेगमा आई खुकुरी प्रहार गरी थापाको हत्या गरेको स्वीकार गरेका छन् ।
घटनाक्रमअनुसार सोही दिन बिहान छिमेकीको विवाहमा जन्त जान बस चढेका मगरलाई थापाले रोकेकी थिइन् । बढी जिद्धी गरेपछि उनी जन्त गएका थिए ।
मगरको भनाइ उद्धृत गर्दै प्रहरी प्रवक्तासमेत रहेका रेग्मीले भने, ‘राति ९ः४५ बजेतिर जन्तबाट फर्किदा आमा निदाउनुभएको थियो, मैले घरको माथिल्लो तल्लाको बार उप्काएर भित्र छिरेर तल झरी खुकुरीले छप्काएको हो । मगरले दाप सहितको खुकुरी आफू सुतेको कोठाको पछाडि रहेको खोरमा राखेको पाइएको छ ।’
उनले थापाको हत्यापछि रगत लागेको हातखुट्टा धोएर सुतेको बताएको उनले जानकारी दिए । समय–समयमा आफूलाई गाली गर्ने गरेको भन्दै आवेगमा आएर हत्या गरेको शुक्रबार सरकारी वकिलको कार्यालयमा वयानका क्रममा मगरले बताएको प्रवक्ता रेग्मीले बताए ।
दश महिनाअघि घरको काम गर्न मगरलाई थापा परिवारले राखेको थियो । छोरी ज्वाइँले धादिङका ती किशोरलाई खोजेर घरमा काम गर्न पठाएका थिए । घरमा रहेका कुखुरा र भण्डारामा रहेको घरको रेखदेख गर्न बसेका मगरले खुकुरी प्रहार गर्दा टाउकाको चार ठाउँमा र पाखुराको एक ठाउँमा चोट लागेको थियो ।
थापाको जेठो छोराले घरको रेखदेख गर्ने भए पनि कामका सिलसिलामा जिल्ला बाहिर गएका बेला सो घटना भएको थियो । थापाको श्रीमानसमेत घरमा नरहेको बेला ती किशोरले उनको हत्या गरेका थिए । घटना स्वीकार गरे पनि अन्य व्यक्ति संलग्न भए/नभएको अनुसन्धान भइरहेको रेग्मीले बताए । अनुसन्धानका लागि प्रहरीले अन्य पाँचलाई पनि नियन्त्रणमा लिएको छ ।
from Online Khabar http://bit.ly/2MMVaEa
via IFTTT
No comments:
Post a Comment