Monday, February 4, 2019

सुन पछिल्लो ६ वर्षयताकै महंगो

२१ माघ, काठमाडौं । सुनको भाउ पछिल्लो ६ वर्षयताकै उच्चविन्दुमा पुगेको छ । आइतबार छापावाल ६२ हजार ३ सयमा कारोबार भएकोमा सोमबार २ सय रुपैयाँ बढेर प्रतितोला ६२ हजार ५ सय रुपैयाँ पुगेको हो ।

यसअघि ०६९ भदौ १२ गते सुनको भाउ ६३ हजार ३ सय रुपैयाँसम्म पुगेकोमा त्यसपछि घटेर ४७ हजार ७ सय मा झरेको थियो ।
पुस महिनाभरी ५८ देखि ६० हजारको बीचमा रहेको सुनको भाउ माघ लागेसँगै ह्वात्तै बढेको छ ।

चीनसँगको व्यापार युद्धले अमेरिकी डलर कमजोर हुँदै गएकाले अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।

डलरको तुलनामा भारतीय मुद्रा समेत कमजोर हुँदा पनि सुनको मूल्यमा असर परेको शाक्यको विश्लेषण छ ।  एशिया क्षेत्रमा भारतीय मुद्रा कमजोर हुँदै जानु, सेयर बजार कमजोर भइरहेको र बेरोजगारी बढ्दा सुनमा लगानी बढेको उनको भनाइ छ ।

महासंघका अनुसार सोमबार तेजाबी सुनको भाउ पनि तोलामा २ सय रुपैयाँ बढेको छ । आइतबार प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुन सोमबार ६२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य एक सातादेखि बढेको छैन । माघ १५ गते प्रतितोला ७७० मा किनबेच भएको चाँदी त्यसयता १० रुपैयाँ बढेर प्रतितोला ७८० रुपैयाँ कारोबार भइरहेको छ ।



from Online Khabar http://bit.ly/2DPRdvC
via IFTTT

No comments:

Post a Comment