Monday, February 4, 2019

काम छोडेर ६ महिनादेखि ठेकदार फरार

माघ २१, कैलाली । कैलालीको भजनी नगरपालिका-३, ठेकिपुर र वडानम्बर ५ लालबोझीलाई वडानम्बर ७ चर्चासँग जोड्ने पुलको ठेक्का लिएको कम्पनी काम छाडेर बेपत्ता भएको छ ।

गत शनिबार कैलालीका प्रमुख जिल्ला अधिकारीको टोली कान्द्रा खोलामा रहेको निर्माणस्थल पुग्दा न कामदार थिए न त कम्पनीका कर्मचारी ।

प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठसँग स्थानीयवासीले काम नगर्ने ठेेकदारलाई कारवाही गर्न आग्रह गरे ।

स्थानीयवासी बलबहादुर बुढाले कान्द्रामा पुल नहुँदा वर्षायाममा आवतजावत ठप्प हुने गरेको बताए । उनका अनुसार आवतजावत ठप्प हुँदा वडानम्बर ५ र ७ का बासिन्दा अत्यावश्यक सेवाबाट समेत बञ्चित छन् ।

स्थानीयवासीको पुल निर्माण सम्झौता भएदेखि अनुगमनमा कोही नआएको गुनासो गर्दा प्रमुख जिल्ला अधिकारी श्रेष्ठले काम रोकिनुको कारण पत्ता लगाएर आवश्यक कारवाही गर्ने आश्वासन दिए ।

पुलको ठेक्का लामा शेर्पा जेभी प्रालीले लिएको छ । तर, कम्पनी संचालक ६ महिनादेखि सम्पर्कमा छैनन् ।

कम्पनीले हुलाकी सडक आयोजना अन्तर्गतको पुल दुई वर्षमा सक्ने गरी २०६८ जेठ ३१ गते निर्माण सम्झौता गरेको थियो । साढेसात वर्षमा पुलको पिल्लरसमेत राखेको छैन । पुलको लागत तीन करोड ४५ लाख २० हजार रुपैयाँ छ ।

यता, हुलाकी सडक आयोजनाका प्रमुख राम पुकार जैशवालले काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

एक साताभित्र सम्पर्कमा आउन आग्रह गरिएको भन्दै उनले सम्पर्कमा नआए धरौटी जफत गरी कारबाही गरिने बताए ।



from Online Khabar http://bit.ly/2MOGZ1t
via IFTTT

No comments:

Post a Comment