Wednesday, March 6, 2019

रियल मड्रिडमा सकिएको एक युग

२२ फागुन, काठमाडौं । युरोपियन फुटबल च्याम्पियन क्लब रियल मड्रिडको १ हजार ११ दिनको सत्ता सकिएको छ । त्यो पनि एकतर्फ असाध्यै दुःखदायी र अर्कोतर्फ असाध्यै शानदार रुपमा । गएको एक हप्ताको बीचमा मड्रिड जति कमजोर देखिएको छ त्यसले सुधारतर्फ संकेत गरिरहेको छ ।

१३ पटक युरोपियन च्याम्पियन बनेको क्लबसँग समर्थकहरुको अपेक्षा पूरा भइरहेको छैन । जारी सिजनको सुरुबाट नै ढलपल भइरहेको मड्रिड टिमले गएको एक हप्तामा कोपा डेल रे र च्याम्पियन्स लिग गुमाइसकेको छ भने ला लिगा असम्भव जस्तै बनेको छ ।

इतिहासले बढाएको दबाव

गएको वर्ष रियल मड्रिडले लगातार तेस्रो र पाँच सिजनमा चौथो पटक च्याम्पियन्स लिगको उपाधि उचाल्दा विश्व क्लब फुटबलमा एकोहोरो दबाव बनाइरहेको थियो । विजयी टिमका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो युभेन्टस जानु र प्रशिक्षक जिनेदिने जिदानले क्लब छाड्नु दुःखद कारण देखिइरहेको छ ।

रोनाल्डो र जिदानले मड्रिड छाडेपछि विश्वकपमा स्पेन टिम सम्हालिरहेका जुलेन लोपेटेगीलाई हतार हतार ल्याइए पनि उनको प्रभाव बन्न सकेन र बर्खास्त गरियो । लोपेटेगीको स्थानमा आएका सान्टियागो सोलारीले युवा खेलाडीमा विश्वास बढाउँदै लैजाँदा मड्रिड लयमा फर्कने आँकलन गरिए पनि च्याम्पियन्स लिगमा अन्तिम १६ बाटै बाहिरिएपछि सबै कुरा धमिलिएको छ ।

च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा नेदरल्याण्ड्सको क्लब आयाक्सलाई २–१ ले हराएको मड्रिड दोस्रो लेगमा घरेलु मैदानमै गएराति ४–१ ले पराजित हुन पुग्यो । जसले विश्व फुटबल जगत हल्लिरहँदा मड्रिडमा भने हारको कारण र भविष्यको योजनामा छलफल भइरहेको छ ।

२०१३–१४ को सिजन एथ्लेटिको मड्रिडलाई हराएर च्याम्पियन्स लिग जितेको रियल मड्रिड २०१४–१५ मा सेमिफाइनलमा युभेन्टससँग हारेको थियो । त्यसपछि २०१५–१६ मा एथ्लेटिकको मड्रिड, २०१६–१७ मा युभेन्टस र २०१७–१८ मा लिभरपुललाई हराएर मड्रिडले उपाधि जित्यो ।

२०१५–१६ को सिजनदेखि हेर्ने हो भने मड्रिडले ४७ खेल खेलेकोमा ३२ खेल जितेको छ, ८ खेल बराबरी भएको छ भने ७ खेल हारेको छ । २०१० मा फ्रेन्च क्बल लायोनसँग हारेर अन्तिम १६ बाट बाहिरिएपछि हरेक वर्ष मड्रिड सेमिफाइनलसम्म पुगिरहेको थियो ।

रोनाल्डो छैनन् त च्याम्पियन्स लिग छैन !

सन् २००९ मा त्यो समयको विश्व कीर्तिमानी मूल्य ८० मिलियन पाउण्डमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड आएका क्रिष्टियानो रोनाल्डोले गएको सिजनको च्याम्पियन्स लिग जित्दा लगातार तीन सिजन च्याम्पियन्स लिग जित्ने कीर्तिमान नै बनाए । जतिबेला मड्रिडले पछिल्ला पाँच सिजनमा चौथो पटक च्याम्पियन्स लिग जितेको थियो ।

कीर्तिमानी जितपछि रियल मड्रिडमा रहँदा आफूलाई गर्व लागेको बताएका प्रशिक्षक जिदेदिने जिदानले पदबाट जब राजीनामा दिए तब रियल मड्रिडमा अब के होला भन्ने प्रश्न आउन सुरु भएको थियो ।

जिदान प्रशिक्षकको रुपमा आएपछिका हरेक सिजन रियल च्याम्पियन्स लिग विजेता बनेको थियो । सन् २०१६ मा मड्रिड आएका जिदानले आफ्नो खेल जीवन जस्तै प्रशिक्षण कला पनि उत्कृष्ट रहेको सावित गरेर बिदा भए ।

अब के होला भन्ने प्रश्न झनै चर्को गरी आयो जब स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो मड्रिड छाडेर इटालियन क्लब युभेन्टस लागे । रोनाल्डोले मड्रिड छाडेपछि जिदान बाहिरिएको पनि छायामा प¥यो ।

मड्रिडबाटै ४ च्याम्पियन्स लिग, ४ बालोन डि’ओर जितेका रोनाल्डोको खेल शैली मड्रिड समर्थकलाई जिदानको प्रशिक्षण शैलीभन्दा बढी प्रिय छ । रोनाल्डोले मड्रिडबाट ४ सय ३८ खेलमा ४ सय ५१ गोल गरेर उपाधि यात्रामा सधैँ प्रमुख भूमिका खेलेका थिए ।

रोनाल्डो आएपछि च्याम्पियन्स लिगमा रियल मड्रिडबाट गरिएका गोललाई हेर्ने हो भने पनि आधाभन्दा बढी गोल उनकै नाममा देखिन्छ ।

जारी सिजन च्याम्पियन्स लिगमा मात्रै होइन ला लिगा र कोपा डेल रेमा समेत त्यही गोलकै अभाव मड्रिड टिममा रहनु रोनाल्डोकै कमि देखिनु हो । उनको स्थानमा ल्याइने भनिएका खेलाडी ल्याउन नसक्नु र ल्याइएका खेलाडी अब्बल देखिए पनि गोलमा परिणत हुन नसक्नु मड्रिडका लागि दुःखद छ ।

प्रशिक्षक सोलारीमाथि प्रश्न ?

जारी सिजन प्रशिक्षकको रणनीतिका कारण खराब प्रदर्शन भइरहेको निक्यौलमा मड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेजले जुलेन लोपेटेगीलाई हटाएर सान्टियागो सोलारीलाई ल्याए । सोलारीले विभिन्न प्रतियोगितामा लगातार चार खेल जितेर मड्रिडमा प्रभाव जमाए तर, केही समय मात्रै ।

सोलारीको जितको यात्रा यति नराम्ररी टुंगियो कि इतिहासमै पहिलोपटक रियल मड्रिड लालिगामा इबरसँग पराजित भयो । त्यो पनि ३–० ले । मड्रिडको प्रशिक्षक बनेका सोलारी आफ्नो कामलाई उत्कृष्ट बनाउँदै जिनेदिने जिदानको बाटो पछ्याउँदै छन् भन्ने तारिफ भएकै दिन उनी नराम्ररी चुकेका थिए ।

सोलारीले सुरुका केही हप्ता क्लबमा राम्रो प्रभाव पार्न सके । मेलिला, भायाडोलिड, प्लेजन र सेल्टाविरुद्ध जित निकालेर चम्कन थालेका उनका लागि दोस्रो चरणको परीक्षा भने सुखद भएन । सेल्टाविरुद्धको जितपछि नै उनी २०२१ जुन ३० सम्मका लागि प्रशिक्षकमा स्थायी नियुक्त भएका थिए ।

सोलारी स्थायी प्रशिक्षक बनिसकेपछि पनि मड्रिड लयमा आएको जस्तो हुने फेरि बिग्रने भइरहेको थियो । त्यसमा च्याम्पियन्स लिगको अन्तिम १६ को हारपछि भने उनीमाथि प्रश्न उठ्न थालेका छन् ।

सोलारीले राजीनामा गर्ने हौवा फैलिरहे पनि आफू यस्तो अवस्थाबाट भाग्नका लागि क्लबमा नआएको उनले बताएका छन् । ‘अब यस्तो अप्ठ्यारो परिस्थितिमा छाडेर हिँड्न मड्रिडमा आएको होइन । हामीले जतिसक्दो शान्त रुपमा सोचेर अगाडि बढ्नुपर्छ । मड्रिड हामी सबैको उचाइभन्दा धेरै माथि छ, यो फर्कने छ झनै बलियो बनेर ।’

सोलारीले त्यस्तो बताए पनि अर्को सिजन मड्रिडमै रहने उनको सपनामा भने ठूलो धक्का लागेको छ ।

बिग्रिएको के हो ?

जारी सिजन रियल मड्रिडमा देखिएको कमि क्रिष्टियानो रोनाल्डोतर्फ मात्र संकेत भइरहे पनि रोनाल्डो नहुनु मात्रै त्यसको कारण नभएको फुटबल पण्डितहरु बताउँछन् ।

मड्रिडमा गोलको कमि देखिनुमा रोनाल्डो कमि महसुस भए पनि कमजोरी त्यतिमै सीमित भने छैन । रोनाल्डो निस्किएपछि उनको स्थानमा को भन्ने प्रश्नमा केलियन एमबाप्पे, एडन हाजार्ड, ह्यारी केन, मोहम्मद सलाह, नेइमार जस्ता खेलाडीको नाम आइरहे पनि युवा खेलाडी भिनिसियस जुनियरमा निर्भर हुनु परिरहेको छ ।

फरवार्ड लाइनमा ग्यारथ बेल र करिम बेन्जेमाले सोचेको जस्तो गर्न नसक्नु मात्र होइन बालोन डिओर विजेता लुका मोडरिकदेखि डिफेन्सका स्टार मार्सेलोसम्म आफ्नो भूमिकामा देखिन सकेनन् ।

अझ आयाक्ससँगको दोस्रो लेगअघि क्वाटरफाइनलको खेलमा बाहिरिनुपर्ने डरले जानिजानि पहेँलो कार्ड खाएका कप्तान सर्जियो रामोसको कमजोरीमा त बचपना नै देखिन्छ । जानीजानी पहेँलो कार्ड खाएको ठहर गर्दे उनीमाथि युइएफएले नै थप एक खेलको प्रतिबन्ध समेत लगाएको थियो । रामोस नभएको खेलमा बेल, मार्सेलो र एसेन्सियो बेञ्चमा नै थिए ।

आयाक्ससँगको खेललाई हेर्दा ५७ प्रतिशत समय बल मड्रिडकै नियन्त्रणमा थियो । मड्रिडले २० प्रहार पोस्टको दिशामा गरेकोमा ८ प्रहार टार्गेटमै थियो तर गोल भने एक मात्र हुन सक्यो । त्यति नै पटक पोस्टमा सहि प्रहार गरेको आयाक्सले भने ४ गोल नै ग¥यो ।

जति नै बलियो टिमले पनि जहिल्यै जितिरहन त सक्दैन नै । जारी सिजन कोपा डेलरे र च्याम्पियन्स लिगबाट बाहिरिसकेको मड्रिड ला लिगामा पनि कमजोर बनिरहेको छ, त्यसैले हारबाट पाठ सिकेर आउँदो सिजनको तयारीमा जुट्नु नै उपयोगी हुने छ ।

– बीबीसी, मार्का, गोल र गार्जियनको सहयोगमा



from Online Khabar https://ift.tt/2NIzA4t
via IFTTT

No comments:

Post a Comment