१९ चैत, काठमाडौं । आइतबार राति आएको आँधीहुरीमा परेर बाराको प्रसौनी ४ का ५५ वर्षीय अक्षमलाल माझीको निधन भयो । दर्जनौं घर भत्किए, कैयौं मानिस घाइते बने । गाउँबासीहरु शोकमा डुबे ।
आइतबार राति र सोमबार दिनभर पीडितहरु उद्धार र राहतको पर्खाइमा थिए । सोमबार दिनभरि सबैजना उद्धार कार्यमा खटिइरहँदा प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनारायण साह भने जनकपुरमा थिए ।
‘तपाईको गाउँपालिकामा आँधीबेहेरीबाट के–कति धनजनको क्षति भयो ?’ अनलाइनखबरले मंगलबार यस्तो प्रश्न गर्दा देवनारायणले भने, ‘म हिजो कार्यालयमा थिइनँ, जनकपुर गएको थिएँ, दिउँसो कार्यालयमा पुगेपछि विवरण हेरेर मात्र बताउन सक्छु ।’
गाउँमा त्यत्रो विपद आइलाग्दा सोमबार जनकपुर जानैपर्ने के परेछ त्यस्तो ? यसबारे जिज्ञासा राख्दा गाउँपालिकाका लेखा अधिकृत प्रधुमन प्रसादले अनलाइनखबरसँग भने– ‘उहाँ तालिममा सहभागी हुन जनकपुर जानुभएको हो ।’
विपदका बेला जनकपुरमा तालिम लिन पुगेकाले देवनारायणले प्रसौनीको क्षतिको विवरण बताउन सक्ने कुरै भएन । त्यसपछि हामीले प्रसौनी गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्तालाई टेलिफोन गर्यौं । उनको फोनको स्वीच अफ रहेछ । त्यसपछि उपाध्यक्ष गीता साहलाई फोन गर्यौं । उनको पनि मोबाइल स्वीच अफ रहेछ ।
सरकारले ठूलो धनराशी खर्च गरेर सबै गाउँपालिकाहरुको वेबसाइट बनाएको छ । हामीले प्रसौनी गाउँपालिकाको वेबसाइटमा कार्यालयको टेलिफोन नम्बर खोज्यौं । त्यहाँ ‘सम्पर्क’ लेखिएको ठाउँमा गाउँपालिका अध्यक्ष गुप्ता र प्रशासकीय अधिकृत साहको मोबाइल नम्बरमात्रै रहेछ, कार्यालयको टेलिफोन भेटिएन ।
प्रसौनी गाउँपालिकाको कार्यालयमा जनताले सम्पर्क गर्न सक्ने कुनै ल्याण्डलाइन टेलिफोन नै छैन त ? अनलाइनखबरको प्रश्नमा लेखा अधिकृत प्रधुमन प्रसादले भने– ‘कार्यालयमा टेलिफोन छैन ।’
के सिंगो गाउँपालिकामा अहिलेसम्म नेपाल टेलिकमको ल्याण्डलाइन सेवा नै नपुगेको हो त ? यो प्रश्नमा लेखा अधिकृतको जवाफ छ– ‘हैन । गाउँमा अन्यत्र त टेलिफोन छ, तर गाउँपालिका कार्यालयमा चाहिँ छैन ।’
त्यसो त गाउँपालिका कार्यालयमा टेलिफोन सुविधा नभए पनि प्रसौनी गाउँपालिकामा इञ्जिनियर राजेश कुमार गोस्वामीले सूचना तथा सञ्चार प्रवधि अधिकृतको जागिर भने खाइरहेका छन् ।
प्रसौनीमा जस्तै देशभरिका सबै गाउँपालिकामा ‘सूचना तथा सञ्चार प्रवधि अधिकृत’को पोष्टमा कर्मचारीहरु कार्यरत छन् । तर, गाउँपालिकाको सूचना प्रविधिको अवस्था हेर्ने हो भने कन्तबिजोग छ । वेबसाइट त छ, तर त्यसमा आवश्यक डाटाहरु अपडेट छैनन् । हाकिमका तस्वीर र टेन्डर नोटिसबाहेक त्यहाँ अन्य सूचनाहरु खासै अपलोड गरिँदैनन् ।

गाउँमा ठूलो विपद आइलागे पनि गाउँपालिकाले क्षतिको विवरणसहित प्रेस वक्तव्य जारी गर्ने र वेबसाइटमा राख्ने प्रचलन अहिलेसम्म छैन । गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरु फेसबुक चलाउँछन्, तर इन्टरनेटको माध्यमबाट गाउँको सूचना प्रविधिलाई चुस्त बनाउनेतर्फ कुनै ध्यान दिँदैनन् ।
गाउँमा विपद आइपर्दा तालिममा दौडने प्रसौनीका प्रमुख प्रशासकीय अधिकृत देवनारायण साह र फोन स्वीच अफ गरेर बस्ने गाउँपालिका अध्यक्ष भोलाप्रसाद गुप्ता स्थानीय तहका प्रतिनिधि पात्र मात्रै हुन् कि अरुतिर पनि यस्तै अवस्था छ ? यो सरोकारवालाहरुले ध्यान दिनुपर्ने विषय हो ।
from Online Khabar https://ift.tt/2FNUU4H
via IFTTT
No comments:
Post a Comment