२६ साउन, काठमाडौं । भारतीय कांग्रेसले अध्यक्ष राहुल गान्धीको राजीनामा स्वीकृत गरेर सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष चुनेको छ । यसअघि सोनिया गान्धीपछि राहुल अध्यक्ष चुनिएका थिए ।
हालै भएको चुनावमा कांग्रेस पराजित भएपछि राहुलले नैतिकताको आधारमा पार्टीमा राजीनामा बुझाएका थिए । तर, तत्काल उनको राजीनामा स्वीकृत गरिएको थिएन ।
शनिबार बसेको कांग्रेस कार्यसमितिको बैठकले राहुलको राजीनामा स्वीकृत गर्दै फेरि सोनियालाई नै अन्तरिम अध्यक्ष चुनेको कांग्रेस नेता गुलाम नबी आजादलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सोनिया भारतीय कांग्रेसमा सबैभन्दा लामो समयसम्म अध्यक्ष बनेकी नेतृ हुन् । अर्को अध्यक्ष नचुनिएसम्म अब पार्टीको नेतृत्व सोनियाले नै गर्नेछिन् ।
कार्यसमितिको बैठकमा नेताहरुले राहुललाई राजीनामा पत्र फिर्ता लिन भनेका थिए, तर राहुलले नमानेको समाचारमा उल्लेख छ । उनले राजीनामा पत्रमा अरूको जवाफदेहिता खोज्नुअघि आफू जवाफदेही हुन आवश्यक रहेको बताएका छन् ।
सन् २०१४ को चुनावमा कांग्रेस पराजित हुँदा पनि राहुल गान्धी नै पार्टी अध्यक्ष थिए । त्यतिबेला ५४३ सिटमध्ये कंग्रेसले जम्मा ४४ सिटमात्रै जितेको थियो । यस वर्ष उसले ५२ सिट ल्याएको छ ।
बैठकमा जम्मु कश्मीरको विशेष राज्यको दर्जा खोसिएको विषयमा पनि छलफल भएको थियो । बैठकपछि राहुलले जम्मु-कश्मीरको पछिल्लो अवस्थाबारे जानकारी दिन प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय बैठकले गरेको बताएका थिए ।
from Online Khabar https://ift.tt/2GZDvYh
via IFTTT
No comments:
Post a Comment