Tuesday, January 1, 2019

पोखरा कप फुटबल माघ तेस्रो हप्तादेखि

१७ पुस, पोखरा । मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिता माघको तेस्रो सातादेखि हुने भएको छ । अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीको आयोजनामा माघ १५ गतेदेखि २६ गतेसम्म प्रतियोगिता हुन लागेको हो । पाचौं पटकसम्म सञ्चालन भएको प्रतियोगिता विगत दुई वर्षदेखि स्थगित थियो ।

प्रतियोगितामा ३ विदेशी टिमसहित १२ टिमको सहभागिता रहने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । एन्फा कास्कीका अनुसार प्रतियोगितामा नेपालका ए डिभिजनका ९ टिम र ३ विदेशी टिम सहभागी हुनेछन् ।

प्रतियोगितामा जापानको टिम सहभागी हुने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।

उनले जापानको टिम युनिभर्सिटी कप उचाल्ने टिम भएकाले सशक्त भएको र सो मिट उपाधिका दाबेदारका रुपमा रहने बताए । भारत र बंगलादेशका टिमहरुसँग भने छलफल भइरहेको र ती त्यहाँबाट पनि बलयो टिम आउने उनको भनाइ छ । प्रतियोगितामा आयोजकले पनि खेल्ने र त्यसमा बिदेशी खेलाडी पनि सहभागी हुनेछन् ।

प्रतियोगिताको पुरस्कार राशी पनि बढाइएको छ । यसवर्ष बिजेताले ७ लाख ५५ हजार रुपैयाँ पाउनेछन्, जुन अघिल्लो प्रतियोगितामा भन्दा २ लाख रुपैयाँ बढी हो । त्यस्तै उपबिजेताले ४ लाख पाउनेछन् । प्रतियोगितामा ५ विधाका उत्कृष्ट खेलाडीलाई जनही २५ हजारसहित ट्रफी प्रदान गरिने आयोजक एन्फा कास्कीले जनाएको छ ।

प्रतियोगिताको अवसरमा फुटवल खेलमा योगदान दिने एक जनालाई सम्मान गर्दै एक थान मोटरसाइकल प्रदान गरिने जनाइएको छ भने वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार, वर्ष उत्कृष्ट फुटवल क्लबलाई पुरस्कृत गर्ने पनि आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि १ करोड १७ लाख खर्च लाग्ने एन्फा कास्कीले अनुमान गरेको छ । प्रतियोगिताबाट १ करोड २८ लाख ५० हजार संकलन गरेर साढे ११ लाख बचत गर्ने लक्ष्य लिइएको एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले बताए । बचत रकम रंगशालाको फुटवल मैदान पुनर्निर्माण र फुटवलको विकासमा खर्च गरिने उनले बताए ।



from Online Khabar http://bit.ly/2SAemra
via IFTTT

No comments:

Post a Comment