Tuesday, January 29, 2019

पारसको अवस्था स्थिर, तर खतरामुक्त भन्न नसकिने : अस्पताल

१५ माघ, काठमाडौं । हृदयघात भएर नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारसको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार उनी अझै खतरामुक्त भइसकेका छैनन् ।

छातीमा असह्य पीडाको महसुस भएर पारसलाई सोमबार बेलुकी ४ः१५ बजे नर्भिकको आकस्मिक कक्षमा ल्याइएको थियो । आकस्मिक कक्षमा स्वास्थ्य परीक्षण पश्चात उनलाई तत्कालै क्याथल्यावमा सारेर कोरोनरी एन्जियोग्राम गर्दा मुटुको धमनी पूर्ण रुपमा बन्द रहेको पाइएको थियो ।

‘त्यतिबेला उहाँको ज्यान बचाउन निकै कठिन देखिएको थियो । तर भाग्यवश डा. यादवदेव भट्ट अस्पतालमै हुनुहुन्थ्यो । उहाँको टिमले निकै परिश्रम गरेर पारसलाई बचाउन सफल भएको छ,’ अस्पताल स्रोतले भन्यो ।

बन्द धमनी खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक भएको अस्पतालको विज्ञप्तिमा उल्लेख छ । अहिले उनलाई सीसीयुमा सारिएको छ ।

पारसको उपचारमा प्राडा. यादवदेव भट्ट लगायत डा. जे.पी. जैसवाल, डा. नग्मा श्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल श्रेष्ठको टोली संलग्न रहेको छ ।

‘उहाँको स्वास्थ्य हाल स्थिर रहेता पनि खतरामुक्त अझै भैसक्नुभएको छैन,’ अस्पतालको विज्ञप्तिमा भनिएको छ, ‘उहाँ केही दिन अस्पतालमा नै रहनुहुनेछ ।’

पूर्वरानी कोमलले भेटिन्

पारसलाई हृदयघात भएर अस्पताल भर्ना हुँदा पूर्वराजा र पूर्वरानी सिमरामा थिए । छोराको खबर सुन्नासाथ पूर्वरानी कोमल तत्काल गाडी चढेर काठमाडौं आइन् ।

उनी राति १०ः३० बजे अस्पताल आएको पारससँग निकट शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले जानकारी दिए । उनका अनुसार पूर्वराजा ज्ञानेन्द्रले फोनबाट छोराको हालखबर बुझिरहेका छन् । पारसकी पत्नी पूर्वयुवराज्ञी हिमानी भने अहिले थाइल्यान्डमा छिन् ।



from Online Khabar http://bit.ly/2G4o01L
via IFTTT

No comments:

Post a Comment